उपन्यास वियोग

उपन्यास वियोग

एकदिन एकजना भद्रले अर्का त्यस्तै भद्रसँग मेरो चिनजान गराउनु'भो ।
‘ऊ खगेन्द्र लामिछाने,’ भद्रले भन्नु'भो, ‘युवा लेखक ।’
‘कतिवटा कृति प्रकाशन गर्नु'भो ?’ अर्का भद्रले सोध्नु'भो, ‘कथा, उपन्यास, निवन्ध ?’ 
मेरो मुख रातो भयो । के भन्ने अब ?  

‘खासमा कुनै किताब त छापेको छैन,’ भनें, ‘लेख्ने प्रयास गर्छु ।’ 
‘लेखेर मात्रै लेखक भइँदैन बन्धु,’ भद्रले भन्नु'भो, ‘छाप्नु पर्छ ।’
‘ए, हो र ?’ मनमनै भनें, ‘त्यसोभए त म जुँगाको रेखी नबस्दै लेखक बनिसकेको रै'छु ।’ 
आँफूलाई लेखक सम्झँदा एकपल्ट फेरि रातो भयो मेरो मुख । हामी चिया खाएर छुट्टियौं । मुटु भने चस्कीरह्यो । 
राति निद्रा परेन । 
‘छाप्ने नै भने त चार पाँच कृति त बन्छन् होला,’ गम खाएँ, ‘राम्रै लेखेछौ भन्छन् भद्रजनहरू पनि ।’ 
लेखक बन्ने ईच्छा, आफ्नो । किताब नछापी लेखक भइन्न भन्छन् बा ! फेरि किताब पनि छापेकै हो, जुँगाको रेखी नबस्दै । त्यतिबेला पत्रकारहरूलाई चिनेको थिइँन । पत्रिकामा लेखिएन, फलानाको किताब छापियो भनेर । यसमा मेरो के दोष ? गाउँमा त हिट भएकै हो । 
‘हरिका छोराले उपन्यास छापेछ,’ गाउँलेले भनेकै हुन्, ‘गजबको छ ।’ 

***

२०५४ साल । पृथ्वीनारायण क्याम्पस पोखरामा आई एड पहिलो बर्षमा पढ्थें । क्याम्पसमा सरुभक्त दाइ र वहाँको उपन्यास पागल बस्तीको निकै चर्चा हुन्थ्यो । मैले भने दश कक्षामा छँदा त्यो उपन्यास पढिसकेको थिएँ । 

‘पागल बस्ती उपन्यास सरुभक्तको आफ्नै कथा हो रे,’ क्याम्पसमा चर्चा हुन्थ्यो, ‘उनले साहित्यसँग बिहे गरेका रे, केटीसँग नगर्ने रे ।’ 
सरुभक्त दाइको कुरा चल्दा म दत्तचित्त भएर सुन्थें । उमेरमा मभन्दा जेठा मेरा भतिजा कृष्णले बागबजारमा भाँडा पसल चलाउँथे । म बेलुकापख टहलिन उनको पसलमा जान्थें । चिल्लो तालु, टुप्पीभन्दा तलबाट पलाएको लामो कपाल मुसार्दै पत्रिका पढेका सरुभक्त दाइलाई देख्थें, पत्रिका पसलमा । 
‘मान्छे बन्नु सरुभक्त दाइजस्तो,’ म सोच्थें, ‘खै, यो जुनीमा त त्यत्तिकै हुने होला ।’ 
गाउँमा जन्मेको मान्छे म । शहरको रमझम बुझ्दा बुझ्दै एकबर्ष बिति'गो । आई एड पहिलो बर्षमा अग्रेजी र अनिवार्य नेपालीमा फेल भएँछु । खर्च भरेका बाउले झाँको झारे । पढ्ने कुरामा मैले हार मानिसकेको थिएँ । तर बाले हार नमान्ने । 
‘आई एड पास गर्,’ एकदिन बाले भन्नु'भो, ‘सुनको सिक्री किन्दिन्छु ।’ 

पढ्न पटक्कै मन नलाग्ने । मलाई प्रोफेसर बनाउने बाउको ठूलो ईच्छा । पढ्न मनलाग्दैन भनौं, भने बाउले मार्ने हुन् कि भन्ने डर । मन एकोहोरिएर घरि माथिको बारी र पल्लोबारीमा सारेका सुन्तलाका रुखमा जान्थ्यो । घरि आफू हिरो भएका कविता, कथा, उपन्यास दिमागमा घुम्थे । मनको बह कोसँग पोख्ने ? ठूलो प्रश्न मेरो अगाडि थियो ।

म विन्धवासीनी मन्दिर पछाडि बस्थें । एकदिन क्याम्पसबाट बागबजार हुँदै कोठामा हिंडेको टुँडिखेल पो पुगेँछु । बाटोमा हिंड्दा पनि एकोहोरिन थालें । लेखकहरू लहडी हुन्छन् भन्ने सुनेको थिएँ मैले ।  
‘ए भाइ, लेखक बन्ने छाँटकाँट त आयो,’ मैले सोचें, ‘अब लेख्नु पर्छ । ढिलो गरे साहित्यमा पछि परिन्छ ।’ अद्भूत लेखकीय शक्ति प्राप्त गरेको भान भयो मलाई । म आफैँसँग फिस्स हाँसे । 
पढ्ने कुरालाई दोस्रो वरियताक्रममा राखेर उपन्यास लेख्न शुरु गरें । लेख्न बस्दा मलाई लाग्थ्यो, म पनि यो देशको ठूला लेखक मध्येको एक हुँ । उपन्यास लेख्न शुरु गरेपछि म पनि सरुभक्त दाइ पत्रिका पढ्न जाने पसलमा जान थालें । पत्रिका पसलमा सरुभक्त दाइ आउने समय मलाई थाहा थियो । म उहाँ आउनभन्दा अगाडि नै पुगिसक्थें । 
‘दाइ नमस्कार, ’ म श्रदाले झुक्थें, ‘आराम हुनुहुन्छ ?’
‘ठीकै भन्नुपर्यो,’ सरुभक्तले भन्नुहुन्थ्यो । ‘अनि भाइलाई ?’
म मुस्कुराएर टाउको मात्र हल्लाउँथें । लगातार नमस्कार ठोकेपछि सरुभक्त दाइसँग बाटोमा भेट हुँदा पनि बोलचाल हुनथाल्यो । मेरो छाती गर्वले फुलेर पहाड जत्रै भयो । क्याम्पसका साथीहरूलाई गफ दिन थालें । 
‘केटा हो, सरुभक्तसँग मेरो राम्रो चिनजान छ नि !’ 
‘हो र !’ साथीहरूले अचम्म मान्थे । 
‘म पनि उपन्यास लेख्दैछु,’ मैले भन्थें, ‘उपन्यास लेख्नु कठीन काम रै'छ यार ।’ 
‘बाफ् रे बाफ्,’ साथीहरूले जिब्रो टोक्थे । ‘तिमी त खतरा मान्छे रै'छौ ।’
राजाको एकलौटी शासन चल्दा राजकुमारको जस्तो हाँसो मेरो ओठमा हुनथाल्यो । म सोच्थें, कलेजका सबै साथीहरू मेरा साहित्यिक प्रजा हुन् । 

मभित्र भावुकता पनि अलि गहिरिंदै गएको थियो । छरछिमेक, गाउँठाउँमा घटेका कुरा घोरिएर सम्झन्थें । त्यसमा आफ्नो कल्पनाशीलता पनि मिलाउँथेँ । मलाई लाग्थ्यो, मैले ठूलो कुरा सोचिरहेको छु, चानेचुने मान्छेले यस्तो कुरा सोच्न सक्दैनन् । 
उपन्यासको पहिलो ड्राफ्ट तयार भयो । आफैँले एकपटक पढें । मख्ख परें ।
‘घच्चीको भएछ,’ मैले सोचें, ‘मदन पुरस्कारको लागि पठाइदिन पर्ला ।’ 

***

दोस्रो बर्षको जाँचले च्याप्न थाल्यो । दोस्रो बर्षमा अंग्रेजी पढ्नु नपर्ने । सजिलै लाग्यो । ठिकै खालको गरें । पहिलो बर्षमा गुल्टिएका विषयहरू छँदै थिए । अंग्रेजी विषय सम्झनेबित्तिकै दाह्रा निस्केको राक्षसजस्तो आकृति आँखा वरिपरि घुम्थ्यो । 
‘साला, यो अंग्रेजी विषय नभको भए कलेज टप्थें मैले ।’ म सोच्थें । तर फेल भएको अर्को विषय अनिवार्य नेपाली सम्झेपछि म ठन्डा हुन्थें । पहिलो बर्षमा फेल भएका विषयहरू मेरा लागि तालुमा खन्याएको भुङ्रोजस्तै भएका थिए । 

***

जेनतेन एक महिना अग्रेजी विषयको ट्यूसन पढेर परिक्षा दिएँ । अनिवार्य नेपालीको परिक्षा पूरा चारदिन स्वाअध्ययन गरेर दिएँ । पास-फेल जाँचकीको मुडमा भर पर्ने खालको भयो । परिक्षा सकिएपछि केही काम थिएन । पोखरामा हल्लेर बसियो केही समय । 
त्यो बेला स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जाबाट त्रैमासिक साहित्यिक पत्रिका ‘रजस्थल’ निस्कन्थ्यो । त्यसका सम्पादक हुनुहुथ्यो, विश्वप्रेम अधिकारी । वहाँसँग मेरो चिनजान थियो । मैले पनि लेख्ने प्रयास गर्ने । विश्वप्रेम बुवाले मलाई हौसला दिनुहुन्थ्यो । मेरा कथा, निवन्ध त्यो पत्रिकामा छापिन्थे । एकपटक स्याङ्जा साहित्य प्रतिष्ठानको बार्षिक कार्यक्रममा मलाई पनि निम्तो आयो । मैले त्रैमासिक पत्रिकाको लागि कथा पठाएको पनि थिएँ । कार्यक्रममा कथा वाचनसहित मलाई मन्तब्य दिन पनि लगाइयो । त्यो सबै कुरा मलाई थाहा थिएन । अचानक पर्यो । मेरो होस्‌हवास् उड्यो । उद्घोषकले बोलाएपछि रातो अनुहार लिएर म अगाडि गएँ । ‘परदेशी’ नामको आफ्नो कथा वाचन गरें । मन्तब्यमा चाहीँ सरुभक्त दाइको विषयमा बोलें । वहाँसँग म नजिक छु भनेर गफ पनि दिएँ । सबै दङ् परेर मलाई हेरे । म गजक्क फुलें । 
कार्यक्रम सकिएपछि मन फुरुङ् भयो । बेलुका घर गएँ । राति निद्रा परेन । 
‘म त ठूलो मान्छे पो रै'छु,’ आँखा चिम्लेर मैले सोचें, ‘साहित्यिक कार्यक्रममा अगाडि बोलाएर बोल्नै लगाए बा !’
लेखिसकेको उपन्यास सम्झेर आँखा पनि जोरिएनन् रातभरी । पोखरा आएँ । र, कम्प्यूटर इन्स्टिच्युडमा उपन्यासको पाण्डुलिपी टाइप गर्न दिएँ । ए फोर साइजमा झण्डै ३५ पेज भयो । 

त्यही बेलामा आइ एड दोश्रो बर्षको परिक्षाफल प्रकाशित भयो । पास भएँछु । 
‘अग्रेजी विषय नहुनाले पास भइस् भैरे,’ मैले सोचें, ‘अग्रेजी भएको त बाँकी नै छ ।’ 
दोस्रो बर्षमा पास भएपछि बा खुसी हुनु'भो । आमा त सोझी, पास भएको छोराको अनुहार टुलुटुलु हेरिरहनु मात्र भयो । 
एकदुई महिनापछि पहिलो बर्षको परिक्षाफल पनि प्रकाशित भयो । अचम्म भो । म फेरि पास भएँछु । सिधै घर गएँ । 
‘मेरो बाचा थियो,’ आठ हजार रुपैयाँ दिएर बाले भन्नुभो, ‘सुनको सिक्री किनेर लगा ।’
मन फुरुङ् भो । पैसा खल्तीमा हालें । पढ्ने मान्छे घरमा धेरै बस्न हुन्न भनेर भोलि पल्टै पोखरा हानिएँ । सुन तोलाको बहत्तर सय रै'छ । किनेर घाँटीमा झुण्ड्याइयो एक तोलाको सिक्री । 
एक्लै बस्थें म पोखरामा त्यतिबेला । बेलुका कोठामा के गरौं के गरौं भो । अनि उपन्यासको पाण्डुलिपी निकालेर पढें । आँशु पनि खसे पढ्दाखेरी । सोचें, ‘घच्चीको भएछ । अब छाप्नुपर्छ ।’  
नाम राखिसकेको थिइँन उपन्यासको । एकछिन घोरिएँ । नाम फुर्यो । ‘परदेशिएका नेपाली’ । त्यही नामलाई ओके गरिदिएँ । 
सरुभक्त दाइलाई पत्रिका पसलमा भेटें । 
‘कता गायब भयौ भाइ तिमी ?’ सोध्नुभो । 
‘उपन्यास लेख्दै थिएँ,’ हँसिलो मुख बनाएर मैले भने, ‘दाइले पढिदिनुहुन्छ ?’
‘पढ्दिउँला,’ भन्नुभो, ‘ल्याएर देउ ।’ 
भोलिपल्ट सरुभक्त दाइको घरमै गएर उपन्यासको पाण्डुलिपी दिएँ । र, म भोलि नै आउँछु भनेर बिदा भएँ । 
म पूरापुर उपन्यास छापिहाल्ने मुढमा थिएँ । पुराना लेखकजस्तो हुन हुन्न भनेर सर्ट पाइन्टमा आइरन लगाएर चिटिक्क परेर हिँड्थें म । बाटोमा हिँड्ने मान्छेहरूलाई झिनामसिना ठान्थें । 
‘खगेन्द्र लामिछाने झुर नाम हो,’ सोचें, ‘अब नयाँ साहित्यिक नाम राख्नुपर्छ ।’
रातभरी घोरिएर नाम जुराउन खोजें । धेरै नाम सोचेपछि अन्तिममा एउटा नाम मन पर्यो । 
भोलिपल्ट म सरुभक्त दाइको घरमा गएँ । स्टिलको ठूलो कपमा कालो चिया लिएर घोरिएर बस्नु भएको थियो सरुभक्त दाइ । 
‘मेरो उपन्यासको असर त होइन ?’ मैले सोचें र भनें, ‘दाइ नमस्कार ।’ 
‘भाइको उपन्यास मैले पढें,’ सन्चो बिसन्चो नसोधिकन दाइले भन्नुभो, ‘प्रयास राम्रो छ भाइको ।’ 
‘हजुर ।’ विनम्र भावमा मेरा दुबै हात जोरिए, ‘मेरो साहित्यिक नाम पनि अर्कै राख्ने भएँ मैले ।’ 
‘के राख्ने भयौ ?’ सोध्नुभो ।
‘विभक्त ।’ म खिस्स हाँसे । दाइले मलाई एकछिन हेर्नुभो ।  
‘पहिला साहित्यको अध्ययन गर्ने हो कि भाइ ?’ कालो चियाको चुस्की लिनुभो, ‘केही समय अध्ययन गरेपछि यसलाई परिमार्जित गरेर छापेमा राम्रो हुन्थ्यो भाइ ।’ 
‘मैले त तुरुन्त छाप्ने बिचार गरेको छु दाइ ।’ सरुभक्त दाइ बोलेर नसक्दै म बोलें । वहाँ अवाक् हुनुभो । 
‘उमेर पनि धेरै भएको छैन भाइको,’ तालु मुसार्दै दाइले भन्नुभो, ‘छाप्ने भएपछि राम्रो बनाएर छाप भनेको हुँ मैले ।’ 
मलाई रिस उठिसकेको थियो । 
‘उमेरको कुरा गर्ने ! सानो मान्छेले लेख्नै हुन्न ? रिस गर्ने लेख्यो भनेर !’ मैले सोचें, ‘साहित्यमा आफूलाई उछिन्छ भनेर त यस्तो भनेका हौला तिम्ले !’ रिसाए पनि मेरो अनुहार हँसिलो नै थियो । 
‘अब छाप्छु नै भन्छौ भने त मैले के भन्नु,’ कप टेवलमा राख्नुभो, ‘छाप ।’ 
‘हजुरले भूमिका लेखिदिनुपर्छ ।’ मैले भनें । 
सरुभक्त दाइ मुसुक्क हाँसेर झ्यालतिर फर्किनुभो । भूमिका लिन तिनदिन पछि आउँछु भनेर म हिँडे । बाटोमा हिँड्दा सरुभक्त दाइसँग रिस उठिरह्यो । 

***
‘बा मैले उपन्यास लेखें ।’ राति गफ गरेर बस्दा बालाई सुनाएँ । आमा पनि सँगै हुनुहुन्थ्यो । बहिनीहरू सुतिसकेका थिए । 
‘राम्रो गरिस् ।’ बाले भन्नुभो । 
‘के हो त्यस्तो भनेको ?’ आमाले सोध्नुभो । 
‘नकरा । तैंले यस्ता कुरा बुझ्दिनस् ।’ बा झोंक्किनु भो । 
‘छाप्नको लागि पैसा चाहियो अलिकति ।’ 
‘त्यस्तो काम त आफूले पैसा कमाएपछि गर्ने हो ।’ बाले आफ्नो झोंक्किने स्वभाव देखाउनुभो । 
उपन्यास छापेपछि के हुन्छ भन्ने कुरामा पूरा एक घण्टा लेक्चर दिँदा पनि बा पैसा दिन राजी हुनु भएन । 
‘त्यसोभए यो सुनको सिक्री बेचेर छाप्छु ।’ मैले भनें । 
‘जेसुकै गर । मैले तलाईं दिएको हो । अब फेरि दिनलाई छैन ।’ बाले भन्नुभो । 

***

भोलिपल्टै म फेरि पोखरा हानिएँ । उपन्यासको धपेडीले म च्याम्सो देखिन थालिसकेको थिएँ । सुनको भाउ बढेको रै'छ । सिक्री बेच्दा झण्डै आठ हजार हात पर्यो । सरुभक्त दाइकोमा गएर भुमिका पनि लिएँ । ‘भूमिका’ शव्दको ठाउँमा वहाँले ‘शुभेच्छा’ लेख्नु भएको रै'छ । पारि गाउँका डिल्लीराम सुवेदी दाइको सहयोगमा बिल छाप्ने प्रेसलाई पाँचसय प्रति उपन्यास छाप्ने कामको जिम्मा लगाइयो । मुल्य पर्यो सात हजार । चार हजार दिएर तीन हजार बाँकी राखियो । 
***

उपन्यास छापियो । प्रेसमा गएर हेरें । कागजले बेरेर डोरीले बाँधेका उपन्यासका पाँचवटा बण्डल । खुसीले मन फुरुङ् भयो । सरुभक्त दाइलाई सम्झेर खिस्स हाँसे म । 
‘भरे नै गएर एक प्रति दिन्छु सरुभक्त दाइलाई,’ मैले सोचें, ‘अनि देख्छन् मेरो करामत ।’ 
ट्याक्सीमा उपन्यासका पाँचवटा बण्डल हालेर कोठामा ल्याएँ । खुसीले मेरा दाँत देखिइरहेका थिए । 
‘के ल्याउनुभो भाइ यस्तो ?’ उपन्यासका बण्डल कोठाभित्र लैजाँदै गर्दा घरबेटीले सोधे ।
‘उपन्यास छापेको दाइ,’ मैले भनें, ‘म त साहित्यकार पनि हो नि ।’
दङ्ग परेर घरबेटीले मलाई हेरे । त्यसपछि मैले उनलाई वास्ता गरिन । उनी गए । 

कोठाभित्र लगेर बण्डल खोलें । उपन्यास पल्टाएर हेरें । झसङ् भएँ । कुनै कुनै पेज त उल्टा पो छन् बा । अरु पनि हेरें । सबै बिग्रेका रै'नछन् । एउटा बण्डलको सबैभन्दा राम्रो किताब छानेर म सरुभक्त दाइकोमा गएँ । विनम्रताका साथ किताब वहाँलाई दिएँ । वहाँले म फेरि एकपल्ट पढ्छु भन्नुभो' । म बिदा भएर हिँडिहालें । 

कोठामा गएर प्रेसवालालाई सत्तोसराप गर्दै सबै किताब पल्टाएर हेरें । दश प्रतिशत जति किताब बिग्रेका रहेछन् । नागढुङ्गाको विनोद दाइलाई फोन गरेर सबै कुरा बताएँ । 
‘प्रेसको अफिस फोड्न जाउँ,’ जंगिदै विनोद दाइले भने, ‘पैसा तिरिसक्यौ ?’
‘छैन,’ भनें । 
‘नदेउ सालेलाई,’ विनोद दाइ फेरि जंगिए, ‘म कुरा गर्छु त्यो सँग ।’

प्रेसलाई बाँकी पैसा नतिर्ने सहमति विनोद दाइ र मबीचमा भयो । र, पछि तिरेनौं पनि । केही किताब मित्रमण्डलीलाई निःशुल्क दिएँ । पढेपछि मुसुमुसु हाँस्दै बधाई पनि दिए उनीहरूले । गाउँको आफ्नो पसलमा पनि किताब सजाएर राखें । बेच्नका लागि गाउँको बजारका अरु पसलमा पनि दिएँ । मलाई माया गर्नेहरूले किनेर पनि पढे । चारसय रुपैयाँ जति पैसा पनि आयो । गाउँमा म हिट भएँ । 
‘यिनीहरू त लेखकका बहिनीहरू हुन, चानेचुने नसम्झ ।’ बैनीहरूका सरहरूले क्लासमा अरु विद्यार्थीहरूलाई भन्दा रै'छन् । बैनीहरू पनि मख्ख । 

***

छापिएको उपन्यासप्रतिको मोह दिनप्रतिदिन घट्दै गएको थियो । बि एड पढ्न म काठमाण्डू आएँ । मित्रमण्डली फेरियो । म संयोगवश साहित्यप्रेमीहरूको संगतमा परें । एउटा समूह थियो, ‘बिचार शिविर’ भन्ने । तर अहिले त्यो अस्तित्वमा छैन । त्यस समूहमा, पुष्प, अजित, जगदीश, नेत्र, महेश्वर, बिकाश, जगन्नाथ, सन्तोष, मुराहरी, सुरेश र म थियौं । कहिलेकाँही अरु साथीहरू पनि थपिन्थे । हरेक शनिवार अनामनगरको एउटा रेष्टुरेण्टमा हाम्रो जमघट हुन्थ्यो, साहित्यिक छलफलको लागि । प्रायः मैले आफूले लेखेका नाटक र कथा साथीहरूलाई सुनाउँथें । वाचन सकिएपछि उनीहरू मेरो झाँको झार्थे । 
‘बेकार भो आजको बिहान,’ कोही कराउँथे, ‘आउने शनिवार कसको पढ्ने ?’ 
‘अर्को कथा पनि लेखेर सकेको छु मैले,’ मसिनो स्वरमा मैले भन्थें, ‘ल्याऊँ ?’
‘हुन्न,’ साथीहरू भन्थे, ‘सँधै तिम्रो मात्रै पढेर हुन्छ ? पहिला गल्ती सुधार तिम्ले ।’
एउटा दुइटा कमेन्ट भए पो सहन सकिन्छ । मुटु छेडिने गरी कमेन्ट गर्थे साथीहरूले । अनुहार रातो हुन्थ्यो । तर उनीहरूले हौसला पनि दिन्थे, ‘अर्को हप्ता अलि मिलाएर ल्याऊ भनेर’ । अलिअलि पढ्न पनि थालें, साहित्य । नाटक लेख्ने बित्तिकै पहिला त अनुप बराल दाइलाई दिन्थें । वहाँ त मेरो शिक्षक पनि । मुसुमुसु हाँस्दै वहाँले पनि गल्ती सुधारिदिनुहुन्थ्यो । अनि त्यही विषयमा वहाँले हिन्दी अग्रेजीका किताब आफूले पढ्दै नेपालीमा उल्था गरेर मलाई सुनाउनु हुन्थ्यो । सुनील पोखरेल सरले जेजस्तो भए पनि लेख्न नछाड भन्नु हुन्थ्यो । गल्ती वहाँले पनि देखाइदिनु हुन्थ्यो, तर मायाले । 
मेरा अग्रज र साथीहरूले मलाई लागेको साहित्यको भुत झाँक्री बसेर उतारी दिए । सातो खाए मेरो । दिमाग खाली भयो, केही समय । पछि त हाम्रो साहित्यिक जमघटमा म केही समय श्रोता मात्र भएँ । बेलाबेलामा सरुभक्त दाइले भनेको कुरा सम्झिरहन्थें । 
‘के लेख्नु साला जीन्दगीमा,’ मैले सोच्न थालेको थिएँ, ‘लेख्न त गाह्रो पो हुँदोरै'छ ।’ 

***

दशैंमा गाउँ गएँ । घरमा थन्किएको उपन्यासको चाङ् धुलाम्मे थियो । 
‘च्वँ च्वँ च्वँ च्वँ,’ धुलाम्मे उपन्यास हेरेर आफैँलाई धिक्कारें, ‘थुक्क खगे ।’
गाउँका पसलमा बेच्नको लागि दिएका उपन्यास लिन गएँ । पैसा कसैले दिएनन् । बाँकी उपन्यास घरमा लिएर आएँ । र, सबैलाई एकठाउँमा जम्मा पारें । 
एकदिन बाले कुँडो पकाउने जिम्मा दिनुभो । घरमा दाउरा त्यति थिएनन् । छेस्काछेस्की बटुलेर पकाउनु पर्ने । मेरो पालो किताबको धुलाम्मे चाङ् बाहिर ल्याएँ । र, गोठछेउको चुल्होमा पछारें । अनि तिनै किताब जलाएर कुँडो पकाउन सुरु गरें । धुँवाको सानो गुजुल्टो रङ्ग चढ्दै गरेको सुन्तलाको झुप्पोमा ठोक्किँदै हरायो ।  
बारीको डिलमा बसेर बाले मतिर हेरिरहनु भएको रै'छ । बासँग आँखा जुधे । 
‘सुनको सिक्री बालेर कुँडो पकाइस् हन्‌ त ?’ बाले भूइँमा थुक्नुभो । 
म खिस्स हाँसे । उपन्यास दनदन बल्न थाले । धुँवा पटक्कै थिएन । तर, मेरा आँखाका कोस भने रसाएका थिए । 
ईतिः

Tags: 

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn